युएईमा अलपत्र नेपाली कामदारको दुई दिनभित्र उद्धार गरी स्वदेश फर्काइने
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी दुई दिनभित्र स्वदेश फर्काउने तयारी गरिएको छ। युएई भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले अलपत्र नेपालीको उद्धार प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उनीहरूलाई शीघ्र स्वदेश फर्काइने बताएका छन्।
युएईको जाबेल अलीस्थित लेबर क्याम्पमा रहेका नेपाली युवाहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दयनीय अवस्थाबारे भिडियो सार्वजनिक गरेपछि गृहमन्त्री गुरुङले प्रतिक्रिया दिएका हुन्। उनले नेपाली दूतावासबाट उद्धारका लागि टोली खटाइसकिएको जानकारी दिएका छन्।
गुरुङले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘दूतावासबाट हिजै एउटा टोली पठाइसकिएको छ, उनीहरूको उद्धार गरी दुई दिनभित्र स्वदेश फर्काइनेछ।’ साथै, स्वदेश फर्कन चाहने कामदारको सङ्ख्या भने अपेक्षाकृत कम रहेको उनको भनाइ छ।
अलपत्र परेका नेपाली कामदारका अनुसार उनीहरू प्याराडाइज म्यानपावर कम्पनीमार्फत रोजगारीका लागि युएई पुगेका हुन्। वीरगञ्ज, धादिङ, दोलखा, काठमाडौं र काभ्रेलगायत जिल्लाका युवाहरूले आफूहरूसहित करिब २०० देखि ३०० नेपाली कामदार समस्यामा परेको दाबी गरेका छन्।
कामदारहरूले सरकारले तोकेको सेवा शुल्कभन्दा बढी प्रतिव्यक्ति दुईदेखि तीन लाख रुपैयाँसम्म म्यानपावर कम्पनीलाई बुझाउनुपरेको आरोप लगाएका छन्। उनीहरूलाई प्याकिङ, वेयरहाउस तथा लोडिङ–अनलोडिङको काम दिने भन्दै विदेश लगिए पनि सम्झौताअनुसार काम र सेवासुविधा नपाएको गुनासो छ।
कामदारहरूका अनुसार काम निर्धारित समयमा सम्पन्न नगरे गालीगलौज गर्ने र पारिश्रमिकबाट रकम कटौती गर्ने गरिएको छ। उनीहरूले कार्यस्थलमा कठिन परिस्थितिमा काम गर्नुपरेको तथा सम्झौतामा उल्लेख गरिएका सुविधासमेत नपाएको बताएका छन्।
पीडित कामदारहरूले सम्बन्धित म्यानपावर कम्पनीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न, आफ्नो राहदानी तथा भिसा फिर्ता गराउन र सुरक्षित रूपमा स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
सरकारले उद्धार प्रक्रिया अघि बढाएको बताए पनि अलपत्र कामदारको वास्तविक सङ्ख्या, उनीहरूको अवस्थाबारे विस्तृत विवरण तथा उद्धारको कार्यतालिकाबारे थप आधिकारिक जानकारी आउन बाँकी छ।

Comments
Post a Comment