देशभर विविध कार्यक्रम गरी मनाइयो धन्वन्तरी जयन्ती
काठमाडौं ।आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी धन्वन्तरी जयन्ती मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वका अवसरमा देशभर भगवान् धन्वन्तरीको पूजा–आराधना तथा आयुर्वेदसम्बन्धी कार्यक्रमहरू आयोजना गरिएको हो । वैदिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा अमृत कलशसहित भगवान् धन्वन्तरी प्रकट भएको विश्वास गरिन्छ । उहाँलाई आयुर्वेद चिकित्साका संस्थापक तथा आरोग्यका प्रतीकका रूपमा पुज्ने गरिन्छ । नेपालमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीलाई आरोग्य दिवसका रूपमा समेत मनाउन थालिएको हो । यस दिन आयुर्वेद क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गरेका छन् । धन्वन्तरी जयन्तीका अवसरमा सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस, दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलगायत विभिन्न सरकारी तथा निजी आयुर्वेद संस्थाहरूमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।