अदालतबाट न्याय पाउने विश्वास छ, कांग्रेस हाम्रै हो : देउवा
**काठमाडौं।** नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस आफ्नो पार्टी भएको र पार्टी आफूहरूकै रहने दाबी गरे।
‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन,’ उनले भने। राजाको शासनकालमा समेत निष्पक्ष फैसला गर्ने अदालतले अहिले पनि न्याय गर्ने विश्वास आफूलाई रहेको उनको भनाइ थियो।
देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनबारे आफूसँग कुनै परामर्श नगरिएको जिकिरसमेत गरे। ‘पार्टी सभापति मै छु, मलाई थाहै छैन। विशेष महाधिवेशन गरेर गगन थापा सभापति भइसक्नुभएको रहेछ,’ उनले भने।
यसैबीच, देउवाले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा आफू गम्भीर घाइते भएको स्मरण गरे। सुरक्षाकर्मीको उपस्थिति नभएको भए आफ्नो ज्यानसमेत जान सक्ने उनको दाबी थियो।
‘सुरक्षाकर्मी नभएको भए मलाई मारिसकेका हुन्थे। मेरो टाउकोमा गम्भीर चोट लागेको थियो,’ उनले भने।
जेनजी आन्दोलनका नाममा आफूहरूमाथि षड्यन्त्र गरिएको पनि देउवाले आरोप लगाए।

Comments
Post a Comment