शेखर कोइरालाले कांग्रेस एकताका लागि देशव्यापी अभियान चलाउने

 



काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र शेरबहादुर देउवा समूहबीच बढ्दै गएको विवाद तथा समानान्तर महाधिवेशनको परिस्थितिबीच नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्।


कांग्रेसका दुवै पक्षका महाधिवेशन प्रक्रियामा सहभागी नभएका कोइरालाले विभाजित अवस्थामा रहेका नेता तथा कार्यकर्तालाई एक ठाउँमा ल्याएर पार्टीलाई पुनः एकीकृत बनाउने उद्देश्यसहित अभियान अघि बढाउन लागेका हुन्।


कोइरालानिकट नेताहरूका अनुसार पार्टीभित्र कुनै एउटा पक्षको जितभन्दा पनि समग्र कांग्रेसको पुनर्निर्माण अहिलेको आवश्यकता हो। पार्टी विभाजित हुँदा कांग्रेसको वैचारिकता, सिद्धान्त, निष्ठा र ऐतिहासिक पहिचान कमजोर हुने उनीहरूको बुझाइ छ।


कोइराला नियमित महाधिवेशनबाटै पार्टीको नेतृत्व चयन हुनुपर्ने पक्षमा थिए। तर, विशेष महाधिवेशनको प्रक्रियाप्रति असहमति र दुवै पक्षबीच सहमति हुन नसक्दा पार्टी विभाजनको अवस्था सिर्जना भएको उनीनिकट नेता सञ्जयकुमार गौतमले बताएका छन्।


गौतमका अनुसार कोइरालाले यसअघि पनि पार्टी एकताका लागि दुवै पक्षका नेताहरूसँग संवाद गर्दै आएका थिए। अब भने उक्त प्रयासलाई देशव्यापी अभियानका रूपमा विस्तार गर्ने तयारी भइरहेको छ।


अभियान संगठन निर्माण गरेर सञ्चालन गर्ने वा विभिन्न तहका नेता तथा कार्यकर्ताबीच संवाद र बहस अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ। यद्यपि, अभियानको औपचारिक स्वरूप र सुरुआती मिति भने तय भइसकेको छैन।


कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि पार्टी एकताको अभियानलाई देशव्यापी बनाउने विषयमा छलफल भइरहेको पुष्टि गरेका छन्। तिहार मनाउन विराटनगर पुगेका कोइराला छठपछि काठमाडौं फर्किएसँगै समूहका नेताहरूसँग थप छलफल गर्ने तयारीमा छन्।


कोइरालालाई नेता बद्री पाण्डे, बलबहादुर केसी, सञ्जयकुमार गौतम र सरिता प्रसाईंलगायतले साथ दिँदै आएका छन्। कांग्रेसभित्र दुईवटा महाधिवेशन र समानान्तर नेतृत्वको अभ्यास भइरहेका बेला कोइरालाको यो अभियानले पार्टीको आगामी राजनीतिक दिशा र एकताको प्रयासमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी