पाकिस्तानमा सुरक्षा कारबाही : १६ लडाकु र दुई सैनिकको मृत्यु
**पाकिस्तान।** पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित उत्तर वजिरिस्तान जिल्लामा सुरक्षा बलले सञ्चालन गरेको सैन्य कारबाहीमा १६ जना लडाकु र दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार, लडाकुहरूको उपस्थितिबारे गुप्तचर सूचना प्राप्त भएपछि जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो।
कारबाहीका क्रममा अली खेल क्षेत्रमा भएको मुठभेडमा १२ जना लडाकु मारिएका थिए। त्यस्तै, मिर अली र दत्ता खेल क्षेत्रमा भएका छुट्टाछुट्टै कारबाहीमा थप चार जना लडाकु मारिएको सेनाले जनाएको छ।
सेनाका अनुसार, कारबाहीका क्रममा लडाकुहरूको साथबाट हातहतियार तथा गोलीगठ्ठासमेत बरामद गरिएको छ। उक्त कारबाहीमा दुई पाकिस्तानी सैनिकले पनि ज्यान गुमाएका छन्।
आईएसपीआरले मारिएका लडाकुहरू सर्वसाधारणमाथि आक्रमणसहित विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेको दाबी गरेको छ।

Comments
Post a Comment