गम्भीर आरोपपछि एनभिडियाका सीईओ जेन्सेन हुआङको पद धरापमा, सञ्चालक समितिद्वारा आकस्मिक बैठकको तयारी
न्युयोर्क। अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा कम्पनीको सञ्चालक समितिले आन्तरिक छलफल थालेको छ। हुआङमाथि विवाहेतर सम्बन्ध र विदेशी गुप्तचरीसँग जोडिएका गम्भीर आरोपहरू सार्वजनिक भएपछि उनको नेतृत्वमाथि प्रश्न उठेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाल स्ट्रिट जर्नल का अनुसार हुआङको भविष्यबारे निर्णय लिन सञ्चालक समितिले बुधबार आकस्मिक बैठक बोलाउने तयारी गरेको थियो। विवाद सतहमा आएसँगै एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर निकायको निशानामा परेको भन्ने रिपोर्टमाथि स्वतन्त्र छानबिनसमेत सुरु गरिसकेको छ।
यता न्युयोर्क टाइम्स ले हुआङको आफ्नै कम्पनीकी उपाध्यक्ष किम्बर्ली पावेलसँग विवाहेतर सम्बन्ध रहेको दाबी गरेको छ। यसअघि सिङ्गापुरस्थित एक डेटा सेन्टर कम्पनीकी वरिष्ठ अधिकारी एलिस हुआङसँगको उनको सम्बन्ध सार्वजनिक भएको थियो। यस विषयमा सीईओ हुआङले एनभिडियाका कर्मचारीहरूलाई एक आन्तरिक सन्देश पठाउँदै एलिससँगको सम्बन्ध स्वीकार गरेका थिए र आफ्नो पत्नीप्रति बेइमानी भएको बताएका थिए।
अमेरिकी गुप्तचर निकायले ती वरिष्ठ अधिकारी एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग आबद्ध रहेको आरोप लगाएको विवरणसमेत बाहिरिएको छ। यही संवेदनशील विषयलाई लिएर अमेरिकी कङ्ग्रेसले पनि हुआङसँग बन्द कोठामा स्पष्टीकरण तथा जानकारी मागेको न्युयोर्क टाइम्स ले उल्लेख गरेको छ। यद्यपि, हुआङले भने जारी अनुसन्धानमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सीईओको व्यक्तिगत तथा सुरक्षासँग जोडिएका विवादहरू सार्वजनिक भएपछि त्यसको प्रत्यक्ष असर कम्पनीको सेयर बजारमा देखिएको छ। एनभिडियाको सेयर मूल्यमा गिरावट आएको छ भने लगानीकर्ताहरूलाई आवश्यक सूचना लुकाएको आरोप लगाउँदै सेयरधनीहरूले कम्पनी र हुआङविरुद्ध सामूहिक मुद्दासमेत दायर गरेका छन्। कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि अत्यावश्यक चिप उत्पादन गर्ने एनभिडिया हाल विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि कम्पनीहरूमध्ये एक मानिन्छ।

Comments
Post a Comment