एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, हार्ने टोलीको यात्रा समाप्त हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफअन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:३० बजे सुरु हुनेछ।
प्रतियोगितामा टिकिरहन दुवै टोलीलाई जित्नैपर्ने दबाब छ। आजको खेलमा पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ भने विजेता टोलीले फाइनल प्रवेशको सम्भावना कायम राख्दै दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।
लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्। काठमाडौंले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो। सुरुवाती तीन खेल लगातार जितेर उत्कृष्ट लयमा देखिएको काठमाडौं पछिल्ला खेलमा भने केही कमजोर बनेको थियो।
यता, चितवनले सात खेलबाट तीन जित, तीन हार र एक खेलमा नतिजा नआएपछि सात अंक जोडेको थियो। चितवन आज काठमाडौंलाई हराउँदै उपाधि दौडमा आफूलाई कायम राख्न चाहन्छ।
इलिमिनेटरको विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अवसरको प्रतीक्षामा छ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स यसअघि नै फाइनलमा पुगिसकेको छ। अब दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
आठ टोली सहभागी प्रतियोगिताको लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भएको थियो। विराटनगर किङ्स र कर्णाली याक्सले समान ६ अंक तथा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले समान चार अंक जोड्दै लिग चरणबाटै प्रतियोगिताको यात्रा टुङ्ग्याएका थिए।
आजको खेल काठमाडौंका लागि लगातारको हार बिर्सेर पुनरागमन गर्ने अवसर हो भने चितवनका लागि उपाधि दौडमा आफूलाई प्रमाणित गर्ने निर्णायक परीक्षा। त्यसैले कीर्तिपुरमा हुने यो भिडन्त दुवै टोलीका समर्थकका लागि रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

Comments
Post a Comment