नेपाल–भारत आर्थिक साझेदारी बलियो बनाउन सात क्षेत्रलाई प्राथमिकता दिनुपर्ने एफएनसीसीआई अध्यक्ष श्रेष्ठको भनाइ
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जनकुमार श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक साझेदारी विस्तारका लागि सातवटा प्रमुख क्षेत्रमा सहकार्य आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित बिजनेस राउन्ड टेबलमा बोल्दै श्रेष्ठले दुई देशबीचको सम्बन्ध भौगोलिक र ऐतिहासिक आधारमा जोडिएको उल्लेख गर्दै आर्थिक समृद्धिका लागि सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
उनले व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधिलाई नेपाल–भारत आर्थिक सहकार्यका प्रमुख क्षेत्रका रूपमा प्रस्तुत गरे। साथै, सुरक्षित तथा आधुनिक सीमा व्यवस्थापन र लगानीको संरक्षणका लागि दुवै देशका सरकारबीच स्पष्ट प्रतिबद्धता आवश्यक रहेको धारणा राखे।
राउन्ड टेबलमा श्रेष्ठले नेपाली उद्योगहरूले भारतसँगको व्यापारका क्रममा सामना गरिरहेका समस्याबारे पनि ध्यानाकर्षण गराए। विशेषगरी जुट, फलामे छड तथा इस्पात उद्योगले गुणस्तर प्रमाणीकरणलगायतका प्रक्रियामा चुनौती भोगिरहेको उनको भनाइ थियो।
भारतीय पक्षबाट समय–समयमा हुने व्यापारिक अवरोधले नेपाली व्यवसायी प्रभावित भइरहेको उल्लेख गर्दै उनले कच्चा पदार्थका लागि भारतमा निर्भर रहेका नेपाली उद्योगको संरक्षण र प्रवर्द्धनमा भारतीय पक्षको सहयोग आवश्यक रहेको बताए।
यसैबीच, व्यवसायी दीपक मलहोत्राले भारतीय लगानीकर्तासँग नेपालमा लगानीका सम्भावनाबारे निरन्तर छलफल भइरहेको जानकारी दिए। बिजनेस राउन्ड टेबलपछि पनि ठूला औद्योगिक परियोजना सञ्चालनका विषयमा भारतीय व्यवसायीसँग थप संवाद हुने उनले बताए।
सरकारले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि बढाएकाले उक्त परियोजनामा भारतीय लगानीकर्ता तथा व्यवसायीसँग सहकार्यको सम्भावना रहेको पनि मलहोत्राले उल्लेख गरे।
नेपाल–भारत आर्थिक सम्बन्धलाई व्यापारमा मात्र सीमित नराखी औद्योगिक लगानी, पूर्वाधार विकास र प्रविधि हस्तान्तरणसम्म विस्तार गर्ने विषय राउन्ड टेबलमा उठाइएको छ।

Comments
Post a Comment