नेपालमा वातावरणमैत्री इँटा उद्योग विस्तार गर्न ९ अर्बको कार्बन फाइनान्सिङ कार्यक्रम घोषणा



काठमाडौं — नेपालको परम्परागत इँटा उद्योगलाई वातावरणमैत्री तथा आधुनिक प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यले ६ करोड अमेरिकी डलर (करिब ९ अर्ब रुपैयाँभन्दा बढी) बराबरको कार्बन फाइनान्सिङ कार्यक्रम घोषणा गरिएको छ।


इनोसीएसआर (InnoCSR) र हुलास इको ब्रिक्सको सहकार्यमा अघि बढाइएको यस कार्यक्रमले सन् २०३० सम्म नेपालका ३०० वटा इँटा उत्पादन केन्द्रमा ‘गुड ब्रिक्स’ (Good Bricks) प्रविधि विस्तार गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा दिवाकर गोल्छा अर्गनाइजेसनको समेत सहकार्य रहेको छ।


टर्कीमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (COP31) अन्तर्गतको एक कार्यक्रममा यससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो।


कार्यक्रमअन्तर्गत सहभागी इँटा उत्पादकहरूलाई हाइड्रोलिक इँटा प्रेस मेसिन उपलब्ध गराउनुका साथै बजार व्यवस्थापनमा सहयोग गरिनेछ। प्रत्येक उत्पादन केन्द्रमा करिब २ लाख अमेरिकी डलर बराबरको मेसिनरी तथा बजार सहयोग उपलब्ध गराउने योजना रहेको छ।


यस कार्यक्रमका लागि एसियाली विकास बैंक (एडीबी), एनएच इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज तथा कोरिया वेस्टर्न पावरलगायतका अन्तर्राष्ट्रिय लगानीकर्ताबाट कार्बन फाइनान्सिङ जुटाउने योजना बनाइएको छ। भविष्यमा कार्बन क्रेडिटबाट प्राप्त हुने आम्दानी प्रयोग गरी नयाँ प्रविधि अपनाउनुपर्ने स्थानीय उद्योगीको सुरुवाती लगानीको भार कम गर्ने लक्ष्य राखिएको छ।


के हो गुड ब्रिक्स प्रविधि?


परम्परागत इँटा उत्पादनमा माटोलाई भट्टामा राखेर कोइला वा अन्य इन्धनको सहायताले उच्च तापक्रममा पकाउनुपर्ने हुन्छ। यस प्रक्रियाबाट ठूलो मात्रामा कार्बन उत्सर्जन तथा वायु प्रदूषण हुने गर्छ।


तर, गुड ब्रिक्स प्रविधिमा स्थानीय रूपमा उपलब्ध माटो, सिमेन्ट र इनोसीएसआरले विकास गरेको विशेष ‘गुड सोइल स्टेबलाइजर’ प्रयोग गरिन्छ। यी सामग्रीलाई हाइड्रोलिक मेसिनमार्फत उच्च दबाबमा थिचेर इँटा तयार गरिन्छ। यस प्रक्रियामा परम्परागत इँटाजस्तो भट्टामा पोल्नुपर्ने आवश्यकता पर्दैन।


वार्षिक १५ लाख टन कार्बन उत्सर्जन घटाउने लक्ष्य


कार्यक्रम पूर्ण क्षमतामा सञ्चालनमा आएपछि ३०० उत्पादन केन्द्रबाट वार्षिक करिब तीन अर्ब नपोलिएका इँटा उत्पादन गर्न सकिने अनुमान गरिएको छ।


कम्पनीका अनुसार यस प्रविधिको व्यापक प्रयोगबाट परम्परागत इँटा उत्पादन प्रक्रियाको तुलनामा वार्षिक १५ लाख टनसम्म कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सकिनेछ।


इनोसीएसआरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत साम युनसुक लीले स्वच्छ प्रविधिको विकास गर्नु मात्र पर्याप्त नभई त्यसलाई विद्यमान उद्योगले व्यावसायिक रूपमा अपनाउन सक्ने बनाउनु महत्वपूर्ण रहेको बताएका छन्।


त्यस्तै, दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाले यस सहकार्यले नेपाली उद्यमीलाई आधुनिक इँटा उत्पादन प्रविधिमा पहुँच पुर्‍याउनुका साथै व्यवसाय र वातावरण दुवैलाई फाइदा पुग्ने स्वच्छ तथा प्रतिस्पर्धी उद्योग निर्माणमा सहयोग गर्ने बताएका छन्।


अन्तर्राष्ट्रिय कार्बन फाइनान्सिङलाई स्थानीय उत्पादनसँग जोडेर अघि बढाइएको यस कार्यक्रमले नेपालको निर्माण सामग्री उद्योगलाई कम कार्बन उत्सर्जन गर्ने उत्पादन प्रणालीतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी