नेपाल भाषा केन्द्रीय विभागको विकास र भाषा संरक्षणमा पहल गर्ने मन्त्री तामाङको प्रतिबद्धता
ललितपुर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले नेपाल भाषा केन्द्रीय विभागको संस्थागत विकास, विस्तार तथा मातृभाषा संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ललितपुर महानगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल भाषा केन्द्रीय विभागको स्थलगत निरीक्षण गर्दै मन्त्री तामाङले विभागको वर्तमान अवस्था, समस्या, चुनौती तथा भावी योजनाबारे जानकारी लिएका हुन्।
निरीक्षणका क्रममा उनले मातृभाषा कुनै पनि समुदायको पहिचान, इतिहास, संस्कृति र सभ्यताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताए।
बागमती प्रदेश सरकारले स्थानीय भाषालाई मान्यता दिए पनि नेपाल भाषा र तामाङ भाषाको संरक्षण, विकास तथा प्रवर्द्धनका क्षेत्रमा अझै प्रभावकारी काम गर्न आवश्यक रहेको उनको भनाइ थियो। यसका लागि प्रदेश सरकार, स्थानीय तह, विश्वविद्यालय र सम्बन्धित समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताए।
मन्त्री तामाङले सरकारी निकायबाट मातृभाषामा सेवा प्रवाहलाई सहज बनाउन दोभाषेको व्यवस्था विस्तार गर्ने तथा भाषिक दक्षता भएका जनशक्ति उत्पादन र परिचालनका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए।
भाषा संरक्षण सरकारी नीति र निर्णयमा मात्र सीमित हुन नहुनेमा जोड दिँदै उनले परिवार, समुदाय, शैक्षिक संस्था तथा सामाजिक संघसंस्थाले पनि मातृभाषाको प्रयोग र पुस्तान्तरणमा सक्रिय भूमिका खेल्नुपर्ने बताए।
विभागको संस्थागत विकास र शैक्षिक तथा अनुसन्धानात्मक गतिविधि विस्तारका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न आफू सकारात्मक रहेको मन्त्री तामाङले उल्लेख गरे।
यसअघि विभागका प्रमुख डा. बज्रमुनी बज्राचार्यले नेपाल भाषा केन्द्रीय विभागले अपेक्षित सरकारी प्राथमिकता र सहयोग प्राप्त गर्न नसकेको गुनासो गरेका थिए। उनले प्रदेश सरकारले स्थानीय भाषालाई मान्यता दिए पनि नेपाल भाषा र तामाङ भाषाको प्रवर्द्धनमा अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको बताए।
कामको बाँडफाँट र अधिकार क्षेत्र स्पष्ट नहुँदा भाषा संरक्षण तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालनमा कठिनाइ भइरहेको जानकारी गराउँदै उनले विभागको संस्थागत विकास र विस्तारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।

Comments
Post a Comment