मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी, प्रहरीद्वारा अनुसन्धान सुरु
**ढाका ।** बंगलादेशका पूर्व अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसको चट्टोग्रामस्थित पुर्ख्यौली घरमा आगजनी भएको छ। बुधबार राति पञ्चलाइश क्षेत्रमा रहेको उनको पुर्ख्यौली घरको भुइँतलामा आगो लगाइएको हो।
पञ्चलाइश प्रहरी चौकीका प्रमुख (ओसी) मोजाम्मेल हकका अनुसार राति करिब ११ः३० बजे घरको भुइँतलामा रहेको खाली कोठामा आगो लागेको थियो। नियमित गस्तीमा खटिएका प्रहरी अधिकारीहरूले आगो देखेपछि तत्काल भवनभित्र प्रवेश गरी आगो नियन्त्रणमा लिएका थिए।
घटनामा मानवीय क्षति भएको वा नभएकोबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन। आगजनीमा को संलग्न थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख हकले जानकारी दिएका छन्।
उनका अनुसार भवनको भुइँतलामा कोही पनि बसोबास गर्दैनन्। युनुसका दुई दाजुभाइका परिवार भने भवनको दोस्रो र तेस्रो तलामा बस्दै आएका छन्।
घटनापछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै घर आसपासको क्षेत्रमा प्रहरी सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment