मकवानपुर ईभी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, सबै मृतकको पहिचान खुल्यो
** मकवानपुर ।** मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या १४ पुगेको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार मृतकमध्ये पाँच जना महिला तथा बालबालिका र नौ जना पुरुष रहेका छन्।
मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका १३ जना रहेका छन्।
यसअघि पहिचान खुलेका मृतकमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।
त्यस्तै, दुर्घटनामा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदिप यादव घाइते भएका छन्।
घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ। त्यस्तै, ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो। उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनापछि प्रहरी तथा उद्धार टोलीले घटनास्थलमा उद्धार र खोजी कार्य सञ्चालन गरेका थिए।

Comments
Post a Comment