मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

 


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।


मुख्यमन्त्री यादवका अनुसार आज दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी छ। विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र मतदान हुनुअघिसम्म पनि संवाद जारी रहने उनले बताएका छन्।


नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।


दुवै दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव सरकारको निरन्तरता सुनिश्चित गर्न आवश्यक बहुमत जुटाउने प्रयासमा छन्।


१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्।


त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्री यादवले आवश्यक बहुमत जुटाउन अन्य दलको समर्थन प्राप्त गर्ने प्रयास गरिरहेका छन्।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी