लमजुङ अस्पतालमा सिटी स्क्यान सेवा विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

 


लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङ अस्पतालमा सिटी स्क्यान सेवासहित अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउन प्रदेश सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश सरकारको प्राथमिकता रहेको बताए।


उनले प्रदेशका विभिन्न जिल्लामा रहेका १४ वटा अस्पतालको स्तरोन्नति भइरहेको जानकारी दिँदै अस्पतालमा उपलब्ध शय्या सङ्ख्या २५० बाट बढाएर ८५० पुर्‍याइएको बताए। सेवा विस्तारसँगै आवश्यकताअनुसार स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति थप गर्ने काम भइरहेको उनको भनाइ थियो।


लमजुङ अस्पतालमा सिटी स्क्यान सेवाको आवश्यकता औँल्याउँदै मुख्यमन्त्री पाण्डेले आगामी बजेटमा उक्त सेवा विस्तारका लागि प्राथमिकता निर्धारण गर्दा लमजुङ अस्पताललाई अग्रपङ्क्तिमा राखिने बताए। अस्पतालको आवश्यकता र बिरामीको चापलाई ध्यानमा राखेर आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिने उनले प्रतिबद्धता जनाए।


मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले डायलाइसिस सेवा लिन प्रतीक्षामा रहेका ८२१ जनाको सङ्ख्यालाई शून्यमा झार्ने लक्ष्यसहित सेवा विस्तारको काम गरिरहेको छ। मिर्गौलाका बिरामीले समयमै उपचार पाउने व्यवस्था मिलाउन डायलाइसिस सेवालाई प्राथमिकतामा राखिएको उनले बताए।


स्वास्थ्य सेवा सहरी क्षेत्र र सदरमुकाममा मात्र सीमित नराखी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म पुर्‍याउने सरकारको योजना रहेको पनि उनले उल्लेख गरे। आवश्यकताअनुसार करारमा स्वास्थ्यकर्मी नियुक्त गरी ग्रामीण क्षेत्रमा परिचालन गर्ने काम भइरहेको उनको भनाइ थियो।


कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रदेशको सीमित बजेट र न्यून आन्तरिक आम्दानीका कारण विकास निर्माण तथा स्वास्थ्य पूर्वाधार विस्तारमा चुनौती रहेको बताए। लमजुङ, दमौली र स्याङ्जाका अस्पतालको भवन निर्माण तथा स्तरोन्नतिका लागि करिब दुई अर्ब रुपैयाँ आवश्यक पर्ने भए पनि उक्त रकम एकैपटक विनियोजन गर्न कठिन रहेको उनले स्पष्ट पारे।


लमजुङ अस्पतालको भवन निर्माणका लागि गत वर्ष ६९ करोड रुपैयाँको योजना अघि सारिए पनि विभिन्न कारणले बजेट विनियोजन हुन नसकेको उनले जानकारी दिए। यद्यपि, कुल योजनाको २० प्रतिशत रकम विनियोजन गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उनले बताए।


प्रदेश सरकारले स्थानीय तहमा अस्पताल निर्माण तथा सञ्चालनमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी