देशी–विदेशी शक्ति मिल्दा पनि एमालेलाई सिध्याउन सकेनन् : केपी शर्मा ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध देशी तथा विदेशी शक्तिहरू एकजुट भए पनि एमालेलाई समाप्त पार्न नसकेको दाबी गरेका छन्। पार्टी र कार्यकर्तालाई लक्षित गर्दै भइरहेका आलोचना तथा बहिष्कारका प्रयासले कुनै प्रभाव नपार्ने उनको भनाइ छ।
मङ्गलबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई ‘झोले’ भन्दै टिप्पणी गर्ने प्रवृत्तिको आलोचना गरे। उनले यस्ता गतिविधिलाई असहिष्णुताको पराकाष्ठा भन्दै आफ्नो पार्टी बहिष्कारको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पारे।
‘हामीलाई कसैले बहिष्कार गर्छ कि गर्दैन भन्ने मतलब पनि छैन। हामी बहिष्कारको नीति र असहिष्णुताको पराकाष्ठामा उत्रिँदैनौं,’ ओलीले भने।
उनले एमाले नेपालको सबैभन्दा मजबुत, देशभक्त, लोकतान्त्रिक र स्पष्ट राजनीतिक दृष्टिकोण भएको शक्ति रहेको दाबी गर्दै कार्यकर्तालाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरे।
सम्बोधनका क्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति पनि कटाक्ष गरे। उनले हावाहुरीको भरमा राजनीतिक धाक लगाउने प्रवृत्तिले मात्रै पार्टी बलियो नहुने टिप्पणी गर्दै चुनाव जित्नका लागि पहिले बलियो संगठन आवश्यक पर्ने बताए।
‘हामी चुनावमा पार्टी बनाउनेभन्दा पनि पार्टी लिएर चुनाव जित्न जान्छौं,’ उनले भने।
ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचन र सम्भावित आन्दोलन दुवैका लागि तयारी अवस्थामा रहन निर्देशन दिए। किसान महासङ्घका नेताहरूलाई गाउँगाउँ र किसानका घरदैलोसम्म पुगेर संगठन विस्तार गर्न, किसानसँग संवाद गर्न तथा उनीहरूलाई पार्टीमा गोलबन्द गर्न आग्रह गरे।
यसैबीच, आगामी माघमा हुने किसान महासङ्घको महाधिवेशनलाई लक्षित गर्दै ओलीले आन्तरिक प्रतिस्पर्धा र नेतृत्व चयनका विषयमा अनावश्यक विवाद नगर्न सचेत गराए। लोकतन्त्रका नाममा पार्टीभित्रै तानातान गर्नुभन्दा विपक्षी दलहरूसँग प्रतिस्पर्धा गर्न एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।
महाधिवेशनमा सकेसम्म सहमतिका आधारमा सक्षम नेतृत्व चयन गर्न आग्रह गर्दै उनले चुनावी प्रतिस्पर्धा गर्न चाहनेलाई भने पार्टीले नरोक्ने स्पष्ट पारे।
ओलीको सम्बोधनमा पार्टीको संगठनात्मक एकता, आगामी निर्वाचनको तयारी र किसान समुदायमा एमालेको प्रभाव विस्तारलाई विशेष प्राथमिकता दिइएको थियो।

Comments
Post a Comment