किशोरकिशोरीबीचको सहमतिपूर्ण यौन सम्बन्धलाई जबर्जस्ती करणीबाट अलग राख्ने सरकारको तयारी



काठमाडौं । सरकारले विवाहको कानुनी उमेर नपुगेका किशोरकिशोरीबीच आपसी सहमतिमा हुने यौन सम्बन्धलाई जबर्जस्ती करणीको कसुरबाट अलग राख्ने गरी कानुन संशोधनको तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ संशोधन गर्ने प्रस्तावसहित विधेयकको मस्यौदा तयार पारेको हो।


प्रस्तावित संशोधनअनुसार प्रेम सम्बन्धमा रहेका किशोरकिशोरीबीच दुवैको मञ्जुरीमा यौन सम्बन्ध भएको र उनीहरूको उमेर अन्तर दुई वर्ष वा सोभन्दा कम रहेको अवस्थामा त्यस्तो कार्यलाई जबर्जस्ती करणीको कसुरअन्तर्गत नराख्ने व्यवस्था गर्न खोजिएको छ। यद्यपि, यस्तो कार्यमा संलग्न व्यक्तिलाई एक वर्षसम्म कैद सजाय हुन सक्ने प्रस्ताव गरिएको छ।


हालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग उनको सहमतिमै यौन सम्बन्ध राखिए पनि त्यसलाई जबर्जस्ती करणी मानिने व्यवस्था छ। यसले आपसी सहमतिमा प्रेम सम्बन्धमा रहेका किशोरकिशोरीसमेत गम्भीर फौजदारी अभियोगको जोखिममा पर्ने गरेको भन्दै कानुनी सुधारको माग हुँदै आएको छ।


अधिवक्ता दीदिक्षा सिंहले विद्यमान कानुनले यौन शोषण तथा दुर्व्यवहार र किशोरकिशोरीबीचको सहमतिपूर्ण सम्बन्धलाई स्पष्ट रूपमा छुट्याउन नसकेको बताएकी छन्। उनका अनुसार यसका कारण आपसी सहमतिमा सम्बन्धमा रहेका किशोरकिशोरीसमेत अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीसम्बन्धी अभियोजनको जोखिममा पर्ने गरेका छन्।


महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यौन हिंसासम्बन्धी वकालत पत्र : नेपालमा कानुनी रिक्तता र सुधारको आवश्यकता’ विषयक छलफलमा प्रस्तुति दिँदै सिंहले प्रस्तावित संशोधनलाई सकारात्मक कदमका रूपमा व्याख्या गरिन्।


उनले कम्तीमा १४ वर्ष उमेर पूरा गरेका र उमेर अन्तर दुई वर्षभन्दा बढी नभएका किशोरकिशोरीबीच आपसी सहमतिमा भएको यौन सम्बन्धलाई पूर्ण रूपमा अपराधको दायराबाट बाहिर राख्नुपर्ने धारणा राखिन्। तर डर, धम्की, प्रलोभन, शोषण वा शक्ति तथा अधिकारको दुरुपयोगबाट भएका यौन सम्बन्धलाई यस्तो छुट दिन नहुने उनको सुझाव छ।


सहमतिको परिभाषा थप स्पष्ट बनाउने प्रस्ताव


प्रस्तावित विधेयकले जबर्जस्ती करणीको परिभाषालाई थप स्पष्ट र विस्तृत बनाउन पनि खोजेको छ। मस्यौदाअनुसार करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यान, अपहरण वा शरीर बन्धक बनाएर लिइएको सहमतिलाई कानुनी रूपमा मान्य नहुने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै, होस ठेगानमा नरहेको अवस्थामा व्यक्त गरिएको मञ्जुरीलाई पनि वैध सहमति नमानिने उल्लेख छ।


एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले भने होस ठेगानमा नरहेको अवस्थाको कानुनी परिभाषालाई अझ फराकिलो बनाउनुपर्ने बताएका छन्। मदिरा, लागूऔषध वा अन्य नशालु पदार्थको सेवनका कारण व्यक्तिको निर्णय क्षमता प्रभावित भएको अवस्थालाई समेत कानुनले स्पष्ट रूपमा समेट्नुपर्ने उनको सुझाव छ।


उनले सौन्दर्य प्रतियोगिताको आवरणमा बालिका तथा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मनोज पाण्डेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पेय पदार्थमा औषधि मिसाएर सेवन गराई यौन दुर्व्यवहार गरिएको आरोपसमेत रहेको उल्लेख गरे। यस्ता अवस्थालाई विद्यमान कानुनी परिभाषाले पर्याप्त रूपमा समेट्न नसकेको उनको भनाइ छ।


यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पनि कानुनी दायरामा


प्रस्तावित संशोधनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि जबर्जस्ती करणीसम्बन्धी कानुनी परिभाषामा स्पष्ट रूपमा समेट्न खोजेको छ। उक्त समुदायका व्यक्तिमाथि वा त्यस्ता व्यक्तिहरूबीच सहमतिबिना करणी भएमा जबर्जस्ती करणी मानिने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।


त्यस्तै, सामूहिक रूपमा जबर्जस्ती करणी गर्ने कसुरदारलाई मूल सजायमा थप पाँच वर्षसम्म कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ।


छ महिनाभन्दा बढी गर्भवती महिला, पूर्ण वा अति अशक्त अपांगता भएका व्यक्ति तथा शारीरिक वा मानसिक रूपमा अस्वस्थ व्यक्तिमाथि जबर्जस्ती करणी गरेमा पनि थप पाँच वर्षसम्म कैद सजाय हुने प्रस्ताव छ। हातहतियार देखाएर जबर्जस्ती करणी गरेको अवस्थामा समेत थप सजायको व्यवस्था मस्यौदामा समावेश गरिएको छ।


वैवाहिक बलात्कारमा तीनदेखि पाँच वर्षसम्म कैद प्रस्ताव


प्रस्तावित विधेयकले वैवाहिक सम्बन्धभित्र हुने जबर्जस्ती करणीलाई छुट्टै कसुरका रूपमा परिभाषित गर्न मुलुकी अपराध संहितामा नयाँ दफा २१९क थप्ने प्रस्ताव गरेको छ।


मस्यौदाअनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुनेछ।


यस्तो कसुरबाट पीडित पत्नीको निवेदन परेमा अदालतले पतिलाई पत्नीलाई आफू बस्दै आएको घरमा बस्न दिन, खानलाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न आदेश दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।


आवश्यकताअनुसार अदालतले पीडितको उपचार गराउन वा उपचार खर्च उपलब्ध गराउन पनि आदेश दिन सक्नेछ। त्यस्तै, पति–पत्नीलाई एउटै घरमा बस्न उपयुक्त नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था मिलाउन र पत्नीको भरणपोषणको प्रबन्ध गर्नसमेत अदालतले आदेश दिन सक्ने प्रस्ताव गरिएको छ।


सरकारको प्रस्तावित संशोधनले किशोरकिशोरीबीचको सहमतिपूर्ण सम्बन्ध, यौन हिंसाको कानुनी परिभाषा, पीडितको संरक्षण तथा वैवाहिक बलात्कारसम्बन्धी व्यवस्थामा सुधार ल्याउने लक्ष्य राखेको देखिन्छ।


यद्यपि, यी सबै व्यवस्था हाल विधेयकको मस्यौदामा मात्र सीमित छन्। संसद्बाट आवश्यक विधायी प्रक्रिया पूरा भई पारित तथा प्रमाणीकरण भएपछि मात्र नयाँ कानुनी व्यवस्था लागू हुनेछ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी