जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध, एनपीएल प्लेअफ खेल्ने

 


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफ चरणलाई लक्षित गर्दै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अनुभवी ओपनिङ ब्याटर जर्ज मन्सेलाई टोलीमा अनुबन्ध गरेको छ।


सुदूरपश्चिमले आज मन्सेलाई बाँकी खेलका लागि टोलीमा भित्र्याएको जानकारी दिएको हो। आक्रामक ब्याटिङका लागि परिचित मन्सेको आगमनले प्लेअफमा टोलीको ब्याटिङ थप मजबुत हुने अपेक्षा गरिएको छ।


अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका मन्से टी–२० र एकदिवसीय दुवै प्रारूपका अनुभवी खेलाडी हुन्। उनले सन् २०१९ मा नेदरल्याण्ड्सविरुद्ध मात्र ५६ बलमा अविजित १२७ रन बनाएका थिए। उनको यो प्रदर्शन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उत्कृष्ट व्यक्तिगत इनिङ्समध्ये एक हो।


त्यस्तै, सन् २०२५ मा नेदरल्याण्ड्सविरुद्ध नै १९१ रन बनाउँदै उनले एकदिवसीय क्रिकेटमा एसोसिएट राष्ट्रका ब्याटरको सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान कायम गरेका थिए।


स्कटल्याण्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका मन्सेले एकदिवसीयमा तीन शतक र १९ अर्धशतकसहित २ हजार ७७७ रन बनाएका छन्। टी–२० अन्तर्राष्ट्रियमा पनि तीन शतक र १४ अर्धशतकको मद्दतमा उनले २ हजार ५९८ रन जोडेका छन्।


सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मन्सेको आगमनले टोलीको ब्याटिङ पक्ष थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट तथा विभिन्न फ्रेन्चाइज लिगको अनुभवसँगै एनपीएलमा समेत खेलिसकेको अनुभव टोलीका लागि उपयोगी हुने उनको भनाइ छ।


टोलीमा पुनः आबद्ध हुन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिँदै मन्सेले गत संस्करणमा नेपालको क्रिकेट वातावरण र समर्थकबाट राम्रो अनुभव प्राप्त गरेको बताए। यसपटक सुदूरपश्चिम रोयल्सबाट उत्कृष्ट प्रदर्शन गर्ने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।


अनुभवी र आक्रामक ब्याटर मन्सेको उपस्थितिले प्लेअफमा सुदूरपश्चिमको ब्याटिङ रणनीतिलाई कति प्रभावकारी बनाउँछ भन्ने चासो अब समर्थकमाझ बढेको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी