देउसी–भैलोको नाममा सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने पाँच जना पक्राउ, रुपन्देही प्रहरीद्वारा अनुसन्धान जारी











**रुपन्देही **। तिहारको अवसरमा देउसी–भैलो कार्यक्रमको नाममा सार्वजनिक स्थानमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको दुईवटा छुट्टाछुट्टै प्रेस विज्ञप्तिअनुसार जिल्लाका विभिन्न स्थानमा देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रहरीका अनुसार २०८३ कात्तिक २६ गते वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७ स्थित कञ्चनबजारबाट तीन जनालाई नियन्त्रणमा लिएको थियो।


पक्राउ पर्नेमा सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–४ निवासी २२ वर्षीया पूजा ठकुरी, दाङ जिल्लाको गढवा गाउँपालिका–७ निवासी २३ वर्षीया सपना चौधरी र गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–६ निवासी २४ वर्षीया विपना मगर रहेका छन्।


त्यस्तै, सोही दिन राति करिब १२ः०५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट थप दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


पक्राउ पर्नेमा रुपन्देही जिल्लाको देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाही जिल्लाको हरिवन नगरपालिका–३ निवासी २१ वर्षीया प्रामी बस्नेत रहेका छन्।


यसरी देउसी–भैलो कार्यक्रमका नाममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले हालसम्म पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ।


मौलिक संस्कृति संरक्षण गर्न प्रहरीको आग्रह


जिल्ला प्रहरी कार्यालय रुपन्देहीले परम्परागत देउसी–भैलो कार्यक्रममार्फत नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक सद्भावको संरक्षण गर्न सबैलाई आग्रह गरेको छ।


प्रहरीले स्वेच्छिक तथा अमर्यादित तवरले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन गरी प्रचलित कानुनविपरीतका गतिविधि नगर्न अनुरोध गरेको छ। साथै, यस्ता गतिविधि भएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विषयमा समेत सर्वसाधारणलाई जानकारी गराएको छ।


देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक परम्परा भएकाले यसको नाममा सार्वजनिक मर्यादा र सामाजिक सद्भावमा असर पर्ने गतिविधि हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने देखिन्छ।


स्रोत: जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा जारी प्रेस विज्ञप्ति।




नोट: पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ। 

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी