कोप–३१ मा नेपालको हिमाली एजेन्डा उठाएर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्।
तुर्कीएको अन्ताल्यामा आयोजित सम्मेलनमा सहभागी हुन गत साता त्यसतर्फ प्रस्थान गरेका मन्त्री खनाल शनिबार स्वदेश फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्मेलनका उच्चस्तरीय बैठकमा नेपालको तर्फबाट हिमाल तथा पर्वतीय मुलुकका जलवायु सम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाइएको जानकारी दिए।
खनालका अनुसार नेपालले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, जलवायु अनुकूलन तथा हानि–नोक्सानीका लागि वित्तीय सहयोग र बहुप्रकोपीय पूर्वसूचना प्रणालीको सुदृढीकरणका विषयमा आफ्नो धारणा राखेको छ।
उनले पर्वतीय मुलुकका विशिष्ट समस्यालाई सम्बोधन गर्न ‘पर्वत तथा जलवायु परिवर्तन’ सम्बन्धी छुट्टै कार्यकार्यक्रम स्थापना गर्नुपर्नेमा जोड दिएको बताए। साथै, विश्वव्यापी अनुकूलन लक्ष्य र नयाँ सामूहिक परिमाणात्मक जलवायु वित्त लक्ष्यमा पर्वतीय क्षेत्रका विशेष सूचक समावेश गर्नुपर्ने नेपालको धारणा प्रस्तुत गरिएको उनले जानकारी दिए।
सम्मेलनमा नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदार संस्था आईसीआईएमओडी र जोइ इन्भाइरोमेन्ट नेटवर्कसँगको सहकार्यमा पर्वतीय उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस वर्षको कोप सम्मेलनले पर्वतीय मुलुकका एजेन्डालाई कुनै न कुनै रूपमा सम्बोधन गर्नेमा नेपाल आशावादी रहेको मन्त्री खनालले बताए।
कोप–३१ अन्तर्गतका बाँकी बैठक तथा वार्तामा भने कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Comments
Post a Comment