सार्वजनिक आयोजनामा कार्यरत श्रमिकका लागि नयाँ ज्याला र सामाजिक सुरक्षा प्रावधान लागू
काठमाडौं — सार्वजनिक खरिदअन्तर्गतका आयोजना तथा ठेक्कामा कार्यरत श्रमिकका लागि सरकारले नयाँ न्यूनतम ज्याला, सामाजिक सुरक्षा र कल्याणकारी प्रावधान लागू गरेको छ। श्रमिकको उचित पारिश्रमिक, आर्थिक सुरक्षा तथा रोजगारीको सुनिश्चितता गर्ने उद्देश्यले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
नयाँ निर्देशिकाअनुसार सार्वजनिक ठेक्का तथा आयोजनामा कार्यरत श्रमिकले अब न्यूनतम दैनिक १ हजार ७४० रुपैयाँ ज्याला पाउनेछन्। त्यसैगरी, प्राविधिक तथा विशेष दक्षता आवश्यक पर्ने विभिन्न पेसागत श्रेणीका श्रमिकको मासिक पारिश्रमिक अधिकतम २ लाख ६२ हजार ८० रुपैयाँसम्म पुग्ने व्यवस्था गरिएको छ। यसले सार्वजनिक निर्माण तथा सेवा क्षेत्रमा कार्यरत श्रमिकको जीवनस्तर सुधार गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सरकारले निर्धारण गरेको नयाँ मापदण्डअनुसार रोजगारदाताले श्रमिकलाई तोकिएको पारिश्रमिक उपलब्ध गराउनुका साथै सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध गराउनुपर्नेछ। साथै, अनिवार्य स्वास्थ्य तथा दुर्घटना बीमा र सुरक्षित कार्यस्थलको व्यवस्था गर्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ।
श्रमिकको सामाजिक सुरक्षालाई दिगो बनाउन कुल २० प्रतिशत योगदानको व्यवस्था गरिएको छ। जसअनुसार १० प्रतिशत सरकारले र बाँकी १० प्रतिशत सम्बन्धित रोजगारदाता वा ठेकेदार कम्पनीले व्यहोर्नेछन्।
यसका अतिरिक्त, आर्थिक पारदर्शिता कायम गर्न तथा श्रमिकमाथिको शोषण रोक्न सम्पूर्ण पारिश्रमिक अनिवार्य रूपमा श्रमिकको बैंक खातामा सोझै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
नयाँ प्रावधान पूर्ण रूपमा पालना नगर्ने, तोकिएको ज्याला उपलब्ध नगराउने वा कल्याणकारी सुविधामा लापरबाही गर्ने निर्माण व्यवसायी तथा रोजगारदातामाथि कडा कारबाही गरिने व्यवस्था गरिएको छ। नियम उल्लङ्घन गर्ने व्यवसायी वा ठेकेदारलाई कालोसूचीमा राख्नुका साथै कम्पनी दर्ता तथा व्यावसायिक इजाजतपत्रसमेत रद्द गर्न सकिने प्रावधान राखिएको छ।

एकदम राम्रो
ReplyDelete