बङ्गलादेशमा तनाव चुलियो: हसिनाका समर्थकको प्रदर्शन आह्वानपछि सात जिल्लामा सुरक्षा कडा

 


ढाका । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा व्यापक सुरक्षा व्यवस्था गरेको छ। सम्भावित हिंसात्मक गतिविधि नियन्त्रण गर्न सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।


सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनबाट आफ्नो १५ वर्षे शासन गुमाएपछि भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। प्रदर्शनकारीमाथि भएको घातक दमनसँग सम्बन्धित मानवताविरुद्धको अपराधमा दोषी ठहर भएपछि अदालतले उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।


हसिनाको सम्भावित स्वदेश फिर्तीको घोषणासँगै बङ्गलादेशमा राजनीतिक तनाव र हिंसात्मक गतिविधि बढ्न थालेका छन्। प्रतिबन्धित अवस्थामा रहेको उनको राजनीतिक दल अवामी लिगले बिहीबार देशव्यापी प्रदर्शन तथा ‘लकडाउन’ आह्वान गरेको थियो।


यसैक्रममा सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) ले हसिनाको गृहनगर गोपालगञ्जसहित सात जिल्लामा सुरक्षाकर्मी परिचालन गरेको छ। पार्टीले समर्थकहरूलाई घरभित्रै बस्न आग्रह गरे पनि उनीहरूले ढाकालाई गोपालगञ्जसँग जोड्ने राजमार्गका विभिन्न स्थानमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन्। केही क्षेत्रमा आगजनी र हिंसात्मक घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।


यसैबीच, प्रधानमन्त्री तारिक रहमानले राजनीतिक विरोधीहरूले देशलाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले लोकतन्त्र समर्थक शक्तिहरूलाई एकजुट भएर राजनीतिक स्थिरता कायम गर्नसमेत आग्रह गरेका छन्।


प्रहरीका अनुसार अवामी लिगसँग सम्बन्धित १०७ जनालाई बुधबारदेखि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन्।


हसिनाले पछिल्ला साताहरूमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै डिसेम्बरमा स्वदेश फर्किने प्रतिबद्धता दोहोर्‍याउँदै आएकी छन्। उनको सम्भावित पुनरागमन र अवामी लिगको प्रदर्शन आह्वानले बङ्गलादेशको राजनीतिक अवस्था थप संवेदनशील बनेको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी