वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो, धान र मकैको आयातमा ठूलो गिरावट

 





वीरगञ्ज (पर्सा) — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयातमा उल्लेख्य कमी आएको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनदेखि असोजसम्म चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्नको आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको हो।


भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिकमा कुल ३ करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।


वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो। यससँगै चामल आयातमा भएको खर्चसमेत ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर ७० करोड रुपैयाँमा झरेको छ।


धान आयातमा भने अझ ठूलो गिरावट देखिएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ। धान आयातको मूल्यसमेत १ अर्ब ४६ करोड २८ लाख रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।


त्यसैगरी, मकैको आयात पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। मकै आयातमा खर्च हुने रकमसमेत १ अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको छ।


फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा पनि कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।


समग्रमा वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयातमा आएको गिरावटले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतलगायत मुलुकबाट हुने खाद्यान्न आपूर्तिको परिमाण उल्लेख्य रूपमा घटेको देखाएको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी