भीमफेदी दुर्घटनामा १३ नागरिक गुमाएपछि चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई जनही ५० हजार सहयोग

 


सर्लाही, कात्तिक २७ । मकवानपुरको भीमफेदीमा भएको भीषण माइक्रोबस दुर्घटनामा आफ्ना १३ जना नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार एक दिन शोक बिदा दिएको छ। साथै, गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई अन्तिम संस्कार तथा काजकिरिया खर्चस्वरूप जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार बिहान काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय (ईभी) माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीरमा दुर्घटनामा परेको थियो। सडकबाट करिब ५०० मिटर तल खसेको उक्त सवारी दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका मात्रै एक गर्भवती महिला र एकै परिवारका ६ जनासहित १३ जनाको दुःखद निधन भएको थियो।

आज गाउँपालिकाभर शोक बिदा

आफ्ना नागरिकको अकल्पनीय निधनप्रति गहिरो दुःख तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार एक सूचना जारी गरी शुक्रबार शोक बिदा दिने घोषणा गर्नुभएको हो।

जारी सूचनाअनुसार आज शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाबाहेकका नियमित सेवा प्रवाह हुने अन्य कार्यालय तथा गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्। यस्तै, पालिकाभित्रका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरूमा समेत एक दिनका लागि शोक बिदा दिइएको छ। तर, शोक बिदाको दिनमा पनि स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले स्पष्ट पारेको छ।

छठको रौनकबिच सुन्दरपुर गाउँ शोकमग्न

मधेसको महान् पर्व छठ मनाउन उत्साहका साथ घर फर्किंदै गरेका आफन्तलाई दुर्घटनाले खोसेपछि यतिबेला चक्रघट्टा–४ सुन्दरपुर गाउँ पुरै शोकमा डुबेको छ। पर्वको तयारीमा जुटेका परिवारहरूमा एकैपटक ठूलो बज्रपात आइपरेपछि सिंगो बस्ती स्तब्ध बनेको छ।

यसैबीच, दुर्घटनामा परी घाइते भएका अन्य यात्रुहरूको काठमाडौँस्थित मेडिसिटी अस्पताल र भरतपुरस्थित मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी