बारा घटनाबारे सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
बारा — बाराको जितपुर सिमरा–१ मा तीन वर्षीया बालिकामाथि भएको जघन्य घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच शनिबार तीनबुँदे सहमति भएको छ।
गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र पीडित परिवारबीच विद्यमान कानुनमा कसुर तथा सजायसम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्ने, बालिकाको सालिक निर्माण गर्ने तथा परिवारको रीतिरिवाजअनुसार अन्त्येष्टि गर्ने विषयमा सहमति भएको हो।
सहमतिको पहिलो बुँदाअनुसार विद्यमान कानुनमा रहेका कसुर र सजायसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरी सुझावसहितको प्रतिवेदन तयार गर्न सात दिनभित्र ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गरिनेछ।
त्यस्तै, बालिकाको सम्झनामा सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले आवश्यक पहल गर्ने सहमति भएको छ। पीडित परिवारको रीतिरिवाज र परम्पराअनुसार बालिकाको अन्त्येष्टि गर्ने विषयमा पनि सरकार र परिवारबीच सहमति जुटेको छ।
सहमति पत्रमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रीहरू तथा पीडित बालिकाका अभिभावकले हस्ताक्षर गरेका छन्।
सरकार र पीडित परिवारबीच भएको सहमतिपछि घटनासँग सम्बन्धित न्याय तथा कानुनी सुधारको विषयलाई समेत अघि बढाउने प्रतिबद्धता सरकारले जनाएको छ।
पीडित परिवार र सरकार बीच भएको सहमति


Comments
Post a Comment