अभ्यासका क्रममा ग्रिनेड विस्फोट : एक सैनिकको मृत्यु, सहसेनानी घाइते
कैलाली, असार ११ – कैलालीस्थित नेपाली सेनाको तालिम शिक्षालयमा अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय (गोरङ्गे ब्यारेक) मा बिहीबार बिहान अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो।
विस्फोटमा गम्भीर घाइते भएका सैनिक हुद्दा हिमालविक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको दाहिने हातको हत्केला उड्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए।
घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
दुवै घाइतेलाई बिहान करिब साढे १० बजे लम्कीस्थित अस्पतालमा पुर्याइएको थियो। उपचारकै क्रममा मध्यान्ह करिब १२ बजे बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे नेपाली सेनाले बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएको थियो। ग्रिनेड विस्फोट हुनुको कारणबारे नेपाली सेना र प्रहरीले थप अनुसन्धान गरिरहेका छन्।
Comments
Post a Comment